सन्तोष भन्दा ठूलो सुख केही छैन

अनलाइनखबर सोमबार, चैत्र २४, २०७६

एउटा नीतिकथा छ ।

एक गरिब माझी सधैं झै माछा मार्न नदीतर्फ लागे । साँझ छिप्पन लाग्दासम्म उनले एउटै गतिलो माछा फेला पारेनन् । संयोगले जालोमा एउटा सुनौलो माछा प¥यो । त्यस्तो माछा उनले कहिल्यै देखेका थिएनन् । अचम्म के भयो भने, उक्त सुनौलो माछा विलौना गर्दै रुन थाल्यो । माझीको मन पग्लियो, उनले माछालाई नदीमा छाडिदिए ।

साँझ माझीले आफ्नी श्रीमतीलाई उक्त अनौठो घटनाबारे सुनाए । दुबैले त्यसदिन केही नखाई रात काट्ने निधो गरे ।

राती उनीहरु भोकले निदाउन सकेनन् । श्रीमतीले भनिन्, ‘त्यो सुनौलो माछा पक्कैपनि अरु सामान्य माछा जस्तो होइन । तिमीले उसलाई गुण लगाएका छौं । त्यस बापत केही खानेकुरा माग्ने हो कि ?’

श्रीमतीको इच्छा अनुसार माझी नदीमा गए र सुनौलो माछालाई सम्बोधन गर्दै भने, ‘तिम्रो प्राण बचाइदिए बापत हामीलाई केही खानेकुरा दिन सक्छौं ?’ नभन्दै सुनौलो माछा देखा प¥यो र भन्यो, ‘तिम्रो कामना पुरा हुन्छ, घर फर्क ।’

माझी घरमा पुग्दा थरीथरीका मिष्ठन्न परिकारले भरीभराउ थियो । माझी दम्पतीले भरपेट खानेकुरा खाए । उनीहरुसँग मनग्ये खानेकुरा जगेडा रह्यो । केही दिनपछि माझीकी श्रीमतीले भनिन्, ‘खानको लागि अब हामीलाई चिन्ता भएन । तर, कति दिन यहीँ झुपडीमा रात कटाउने ? अलि गतिलो घर भए हुन्थ्यो । सुनौलो माछाले हाम्रो यो इच्छा पनि पुरा गर्नेछ ।’

माझीलाई भने श्रीमतीको कुरा चित्त बुझेन । उनले सुनौलो माछासँग अरु पनि माग राख्न उचित ठानेनन् । तर, श्रीमतीले करकाप गरेपछि उनी बाध्य भए र नदी किनारमा पुगे । उनले सुनौलो माछालई सम्बोधन गर्दै आफुहरुको लागि राम्रो घर आवश्यक रहेको बताए । यसपटक पनि सुनौलो माछा देखाप¥यो र भन्यो, ‘तिम्रो इच्छा पुरा हुनेछ ।’

माझी घर फर्कदा उनको झुपडीको ठाउँमा आकर्षक र सुविधायुक्त महल थियो । माझी दम्पतीका लागि अब खान र बस्नको कुनै चिन्ता रहेन । तर, केही दिन बित्न नपाउँदै माझीकी श्रीमतीले गुनासो गरिन्, ‘यत्तिका ठूलो घर छ । अब आफ्नै खेतीबाली, गाईबस्तु पनि भए हुने ।’ यसपटक पनि बुढो माझी बाध्य भएर श्रीमतीको इच्छा पुरा गर्न सुनौलो माछाकहाँ पुगे । अन्ततः उनीहरुको यो मनोकांक्षा पनि पुरा भयो ।

यद्यपि श्रीमतीको इच्छा थपिदै गयो । उनले अब सुनौलो माछासामु नोकरचाकर पनि चहिने कुरा राख्न बुढो माझीलाई बाध्य बनाए । सबै कुरा पुरा हुँदै गएपछि श्रीमतीको मन अघाएन । बरु, उनको महत्वकांक्षा बढ्दै गयो । उनले आफु एउटा छुटै साम्राज्यको शासक बन्ने इच्छा गरिन् । सुनौलो माछाले उनको इच्छा पुरा गर्दै गए । उनी महारानी भइन् ।

माझी दम्पती अब एक शक्तिशाली शासक भए । उनीहरुसँग कुनै कुराको कमी भएन । धन–सम्पति, सुख–सयल सबै थियो ।

एकदिन महारानीलाई लाग्यो, ‘सबैकुरा मेरो वशमा छ । मेरो इच्छा अनुसार नै रैतीहरु चल्नेछन्, मुलुक चल्नेछ । तर, यो प्रकृति मेरो अधिनमा छैन । रात र दिन मेरो निर्देशनमा चल्दैन ।’ यही कुराले उनलाई बेचैन बनायो । प्रकृतिलाई पनि आफ्नो इच्छा बमोजिम चलाउन पाए हुन्थ्यो भनी उनले श्रीमानसँग गुनोसो पोखिन् । श्रीमानले उक्त कुरा संभव नहुने भन्दै श्रीमतीलाई सम्झाउने प्रयास गरे । तर, श्रीमतीले आफनो ढिंपी छाडिनन् । यदि श्रीमानले आफ्नो इच्छा सुनौलो माछासामु नराखेमा कठोर सजाय दिने धम्की दिइन् ।

श्रीमानको केही लागेन । उनी एकदमै असहज मान्दै नदीको किनारमा गए । सुनौलो माछालाई सम्बोधन गर्दै आफ्नी श्रीमतीको इच्छा सुनाइदिए । सुनौलो माछाले भन्यो, ‘ठिक छ, तिमी घर जाउँ ।’

उनी घर फर्किए । तर, अनौठो भयो ।

न त्यहाँ उनीहरुको साम्राज्य थियो, न दरबार । न रैती, न नोकरचाकर । सुरुको अवस्थामा जुन झुपडी थियो, त्यही मात्र बाँकी थियो ।

अतिले खति

हाम्रो आवश्यक्ता र चाहनाहरु कहिल्यै पुरा हुँदैन । जब हामी आफ्नो गुजारा चलाउने स्रोत पाउँछौं, तब ऐश–आरम खोज्नतर्फ लाग्छौं । घर, गाडी, गर–गहना, जग्गा–जमिन जोड्ने आकंक्षा रख्छौं । सार्थक श्रमले यावत् आकंक्षा पुरा हुँदै जान्छ पनि । तर, त्यो विन्दुमा पुगेर हामी सन्तोष मान्दैनौ कि, जहाँ सबै कुरा पुगिसरी छ । सबैकुरा पुगिसरी भएरपनि हाम्रो महत्वकांक्षा बढ्दै जान्छ । हामी विलासी जीवनको खोजीमा लाग्छौं । असीमित धन–सम्पतिको स्वमी बन्ने आकंक्षा राख्न थाल्छौं ।

हामीकहाँ नेता–मन्त्री, कर्मचारी, व्यापारी आदि भ्रष्ट हुने भनेको पनि यस्तै महत्वकांक्षाले हो । उनीहरुसँग अपुग केही हुँदैन । तर, मन भने सधै दरिद्र हुन्छ । सुकिलो लुगामा ठाँटिएपनि, चौरासी ब्यान्जन खाएपनि, विलासी गाडी र घर उपभोग गरेपनि, पर्यात बैंक ब्यालेन्स राखेपनि उनीहरु सन्तोष मान्दैनन् । त्यही असन्तोषले उनीहरुलाई भ्रष्ट बन्न उक्साउँछ ।

जब हामीमा इच्छा र आकंक्षा बढ्दै जान्छ, लोभ–लालस पैदा हुन थाल्छ । हरेक कुरामा हामी ¥याल काड्न थाल्छौं । धन–सम्पति, सुख–सयल, मोज–मस्तीको चक्करमा हामी जस्तोसुकै कृत्य समेत गर्न पछि पर्दैनौं । आखिर त्यही दलदलमा फसेर हाम्रो पीडादायी अन्त्य हुन्छ ।

कतिले पुग्छ ?

एक धनाड्य व्यक्ति मृत्युको मुखमा थिए । छोराछोरी, नातेदार, आफन्त, इष्टमित्र आसपासमा बसेर उनको पीडा कम होस् भनी थमथमाइरहेका थिए । सान्तवाना दिइरहेका थिए । तर, ति धनाड्य भने जोड–जोडले रोइहेका थिए । उनी यसकारण रोइरहेका थिएनन् कि, आफ्नो मृत्यु हुँदैछ । बरु आफ्नो शेषपछि सन्तानले दुःख पउने हो कि भन्ने चिन्ता थियो । जबकी उनीसँग पर्याप्त धन–सम्पति थियो, जो पाँच पुस्तासम्मलाई बसीबसी खान पुग्थ्यो । तब उक्त धनाड्यलाई सोधियो, ‘किन विलौना गरिरहनुभएको छ ?’

उनले निकै दुःखी हुँदै भन्यो, ‘पाँच पुस्तासम्मलाई त खान–लाउन अभाव हुनेछैन । तर, छैठौं पुस्ताको हालत के होला ?’

आफ्ना सन्ततीको भविष्यप्रति चिन्तित हुनु अन्यथा भएन, तर मान्छेमा लोभको आयम कति टाढासम्म फैलिएको हुन्छ भन्ने दृष्टान्त हो यो कथा । हामीमा जति–जति इच्छा र आकंक्षाको आकार बड्दै, त्यो कुनै विन्दुमा पुगेर पुरा हुँदैन ।

हामी धनाड्य हुन चाहन्छौं, तर कति धन भएपछि हाम्रो मन भरिएला ?

हामी सुख–भोग गर्न चाहन्छौं, तर कति सुख–सुुविधा भए हामीलाई पुग्छ ?

संसारमा उपलब्ध यी भौतिक कुराहरुको कुनै सीमितता छैन । साथै हाम्रा इच्छा–आकंक्षा यसले कहिल्यै पूर्ण गराउन सक्दैन । आज हामी किन चिन्तित छौं ? किन दुःखी छौं ? किन बेचैन छौं ? किनभने हाम्रा इच्छा र आकंक्षाहरु पूर्ण छैनन् । हामीले आफैभित्र अभाव, दरिद्रता अनुभव गरिरहेका छौं । यसैले हामीलाई पिरोलेको छ । नतिजा, हामी तनावग्रस्त छौं । उच्च रक्तचाप, डिप्रेसनको रोगी हुँदैछौं ।

इच्छा, आकंक्षा राख्नु नराम्रो होइन । तर, आफुसँग जे–जति उपलब्ध हुन्छ वा छ, त्यसमा सन्तोष गर्न सक्नुपर्छ । हामी जतिसुकै शक्तिशाली भएपनि, जतिसुकै धनाड्य भएपनि सबैकुरा प्राप्त हुँदैन । सबै कुरा हामीले भोग गर्न सक्दैनौं । किनभने भौतिक कुराहरुले हामीलाई कहिल्यै तृप्त बनाउन सक्दैन ।

मानौं हामी मिठो–मसिनो खानेकुरा खाएर तृप्त हुन चाहन्छौं । चौरासी ब्यान्जन खाएपनि हाम्रो भोक मेटिदैन । हामीलाई त्यो भन्दा मीठो खानेकुराको तलतल लाग्न थाल्छ । त्यसैले त भनिन्छ नि, भोजन भन्दा भोक मीठो । ओछ्यान भन्दा निद्रा मीठो ।

आफ्नो श्रम, सीप, लगाव, मेहनतबाट जे–जति उपलब्ध हुन्छ, त्यसमा सन्तोष गर्नुपर्छ । हाम्रा पौराणिक शास्त्रहरुमा भनिएकै छ नि, सन्तोष भन्दा ठूलो सुख केही छैन ।अनलाइनखबर बाट

सम्पर्क

शोलुसन मिडिया प्रा.ली.
दर्ता नं. : – xxxxxxx
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: महेश खनाल
न्युज डेस्क – बिना मगर, चित्र मगर

हाम्रो बारे

शोलुसन डट कम अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित शोलुसन डट कम र शोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।